१० असोज, काठमाडौं । आतंकवादी संगठन आइएसआइसको कनेक्सनका कारण मलेसिया सरकारले डिपोर्ट गरेका नेपाली महेन्द्रजंग शाहले आफूमाथि षडयन्त्र भएको दावी गरेका छन् । मलेसियास्थित नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्नेतले गरेको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूलाई गम्भीर आरोप लगाएर डिपोर्ट गराइएको दावी शाहले गरेका छन् ।
सोमबार काठमाडौंको रिपोर्टर्स् क्लबमा आयोजित कार्यक्रममा बोल्दै शाहले नेपाली राजदुतले नेपालीलाई नै ठग्ने गरेको आरोप लगाए । मलेसियाबाट नेपाल डिपोर्ट गरिएका शाह एनआरएन मलेसियाका पूर्व अध्यक्ष हुन् । उनले पदीय दुरुपयोग गरेको भन्दै सो संस्थाले समेत वर्खास्त गरेको थियो ।
शाहले आफू दोषी ठहरिए जस्तोसुकै सजायँ भोग्न तयार रहेको बताउँदै शाहले राजदूत डा. निरन्जनमानसिंह बस्नेत र उनका मतियारहरुलाई तुरुन्त छानविन गरी कारबाही गर्न माग गरे । आफूलाई आइएस एजेण्ट बनाएर भ्रम फैलाउने काम राजदूत वस्नेतले गरेको भन्दै शाहले भने- ‘आइएसआइएससँगको मेरो संलग्नता जोडेर समाचार लेखाउने काम समेत राजदूत वस्नेतले नै गरेका हुन् ।’
आफ्नो अभियोगबारे उनले भने- ‘म नेपाल आउने वित्तिकै विमानस्थलबाट पक्राउ गरी १४ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्दा कुनै कसुर अपराधमा संलग्न रहेको नदेखिएकोले धरौटीमा रिहा भएको हुँ । तर पनि मलेसिया सरकारले मलाई ५ वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाई मेरो त्यहाँ रहेको सबै चलअचल सम्पत्ति रोक्का राखी भिसा समेत रद्द गरी नेपाल फर्काइ दिएको हो ।’












