३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाहिरी रुपमा ठूलो सम्मान दिए पनि भित्री रुपमा भारतले गरेको व्यवहार रहस्यमय देखिएको छ । दिल्लीस्थित राष्ट्रपति भवनमा गार्ड अफ अनर दिएर भारतले भव्य सम्मान दिए पनि प्रचण्डको मुद्रा भने त्यति हँसिलो र सन्तोषपूर्ण देखिएन ।
शुक्रबार राष्ट्रपति भवनमा कार्गेडसहित पुगेका प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानजनक स्वागत गरेका थिए । मोदीले प्रचण्डलाई बलियो गरी दुवै हातले प्रचण्डका हात समातेर ह्याण्ड सेक गरेका थिए । यतिवेला मोदी खुशी देखिए पनि प्रचण्ड भने चिन्तित मुद्रामा देखिए । भारतले बाहिरी रुपमा भव्य सम्मान दिएर भित्री रुपमा प्रचण्डसँग लिन खोजेको कामले प्रचण्ड तनावमा रहेको यसबाट स्पष्ट भएको छ ।
गार्ड अफ अनर ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेका थिए । गान्धिको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेपछि प्रचण्डले अतिथि पुस्तिकामा झण्डै एक पेजको अभिव्यक्ति लेखेका छन् । त्यही अभिव्यक्तिमा प्रचण्ड पत्नी सीता दाहाले समेत हस्ताक्षर गरेकी छिन् ।
गान्धीको समाधिस्थलबाट राष्ट्रपति भवन फर्किएका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटेकी छिन् । लगत्तै प्रधानमन्त्री प्रचण्ड हैदराबाद हाउस पुगेका थिए र त्यहीँ दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएको थियो ।













