३० भदौ, काठमाडौं । आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले भारतकै भ्रमण गरेका एमाले अध्यक्ष केपी ओलीलेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत गएकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रचण्ड भारततिर लागेपछि ओली झनै बढी आलोचनामा उत्रिएका छन् । सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कारण माथि प्रश्न गर्दै ओलीले प्रचण्डलाई भारतको इसारामा नाचिरहेको आरोप लगाएका छन् । एमालेले ललितपुरमा विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड भारत जानुको कुनै काम नभई सिंगडा खान गएको बताए । तर त्यो सिंगडाको प्रतिकात्मक अर्थ भने ओलीले खुलाएनन् । प्रचण्डले भारतको ललिपप खाएर राष्ट्रघात गर्न लागेको उल्लेख गरे ।
सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत पठाउनु पनि शंकास्द भएको भन्दै आलोचना गरे। आफू नेतृत्वमा सरकारमा रहेको माओवादीले आफूमाथि घात गरेको दुखेसो पोखे ।
नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौता घातक रहेको तर्क ओलीको थियो। ३ बुँदे सम्झौता मुलुकको भौगोलिक अखण्डतामा आँच पुर्याउने उद्देश्यको रहेको उनले बताए ।












