२७ भदौ, सिराहा । माला लगाउन पाउने भएपछि जहाँ पनि पुग्ने गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनेपछि भने ५१ केजीको माला लगाउने कार्यक्रममा अनुपस्थित भएका छन् । निर्वाचन पहिले मधेशमा लभ परेको बताउने गरेका प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि मधेसी जनताले तयार पारेको ५१ केजीको माला लगाउन सिराहा नगएका हुन् ।
बरु प्रचण्डलाई भनी तयार पारेर माला लिएर हिलोमा डुब्दै सिराहाको कार्यक्रममा पुगेका स्थानीय वासिन्दा तथा माओवादी कार्यकर्ताहरु निराश भएर फकिएको नेपालदेशडटकमका सिराहा संवाददाताले बताए । प्रचण्ड प्रधानमन्त्री बनेपछि मधेसी र थारुका लागि गर्ने सम्बोधन सुन्न भन्दै सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुरबाट हजारौं मानिस सिराहा पुगेका थिए । पानीमा भिज्दै र हिलोमा डुब्दै दिनको १२ बजेदेखि कार्यक्रमस्थलमा पर्खिरहेका कार्यकर्ता तथा स्थानीयवासीले प्रचण्ड नआउने खबर अपरान्ह ४ बजे पाएपछि निराश हुँदै घरतिर फर्केका थिए ।
माओवादी केन्द्रमा पार्टी एकीकरण गरेपछि मधेसमा संगठन बनाउन भनी कार्यक्रम गरेका नेता मातृका यादव पनि प्रचण्डको अनपस्थितिले निराश बनेको उनी निकट व्यक्तिले उल्लेख गरे ।
प्रचण्डको भाषण सुन्नकै लागि भेला भएका कार्यकर्ता तथा स्थानीहरुलाई प्रचण्डले टेलिफोनमार्फत नै भाषण सुनाएका थिए ।
टेलिफोन भाषणमार्फत प्रचण्डले मधेसी, थारु लागाएत सबैको माग सम्वोधन हुने गरी सवैलाई मान्यहुने ढंगले संविधान संशोधन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको आश्वासन दिएका दिए ।

‘भारत भ्रमणबाट फर्किएपछि आफू काठमाण्डौ बाहिर निस्किँदा पहिले मधेसमै आउने प्रतिबद्धता समेत प्रचण्डले व्यक्त गरेका थिए ।मधेसको उन्नतिको मेरुदण्ड हुलाकी सडक निर्माणका लागि आफू भारत गएको वेला कुरा उठाउने र आर्थिक सहायता जुटाउने आश्वासन प्रचण्डले दिए ।
















