२६ भदौ, काठमाडौं । विगतमा भारतीय हस्तक्षेपलाई प्रभूको हस्तक्षेप भनी आफू भारतसामु नझुक्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले भने भारतको चाकडी सुरु गरेका छन् । नेपालमा अघोषित नाकाबन्दी गरेर आम नेपालीलाई दुःख दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चाकडी गर्दै प्रचण्डले भारतीय पत्रिकालाई अन्तरवार्ता दिएर नेपाली जनतामाथि नै अपमान गरेका छन् । जोसँग नजिक हुनपर्यो उसैसँग आफ्नो विचार मिल्ने भन्दै विगतदेखि नै अभिव्यक्ति दिँदै आएका प्रचण्डलाई भारतले प्रधानमन्त्री बनाइदिएपछि मोदीसँग आफ्नो विचार मिल्ने अभिव्यक्ति दिएका छन् ।
भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई अन्तरवार्ता दिँदै प्रचण्डले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच केमेस्ट्री मिल्ने बताएरका हुन् । प्रचण्डले आफू र मोदीको सोचाइसमेत समान ढंगको रहेको उल्लेख गर्दै अन्तरवार्ता दिनुले प्रचण्ड नेपाल र नेपाली विरोधी हुन् कि भन्ने आशंका उब्जिएको छ । नेपालको विखण्डन र नेपालीको अहित चाहने मोदीसँग आफ्नो सोचाइ र केमेस्ट्री मिल्ने बताउनु सामान्य कुरा नभएर गम्भीर कुरा विश्लेषण गरिएको छ ।
प्रचण्डले अन्तरवार्तामा मोदीसँग वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि केही विषयमा समानता रहेको उल्लेख गरेका छन् । मोदी हिन्दू धार्मिक हुन् भने प्रचण्डले यसमा आफ्नो फरकपन भएको भन्दै आफूलाई धर्मनिरपेक्ष उल्लेख गर्न चाहेका छन् ।
प्रचण्डले आफू जस्तै मोदी पनि रिस्क लिन चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको उल्लेख गरेका छन् । साँच्चै प्रचण्डले के रिस्क लिन चाहेका हुन् भन्ने कुरा गम्भीर छलफलको विषय बनेको छ । उनको यो अभिव्यक्तिले प्रचण्डले भरत भ्रमणका क्रममा भारतलाई खुशी पार्न नेपालको अहित हुने राष्ट्रघाती काम गरेर रिस्क लिन चाहेको आशंका उब्जिएको छ ।
प्रचण्डलाई चिन निकट भनी भारतले विगतमा गर्ने गरेको विश्लेषणको खण्डन गर्दै प्रचण्डले भारतको थप चाकडी गर्दै नेपाल र भारतको सम्बन्धमा चीन फयाक्टर नभएको भनी उल्लेख गरेका छन् ।
नेपाली जनतालाई दुःख दिनका लागि भारतले प्रयोग गरिरहेका केही मधेसकेन्द्रित दलहरुको माग पूरा गर्न समेत आफू गम्भीर रहेको जवाफ हिन्दूस्तान टाइम्सलाई दिएका छन् ।
आफू यस अगाडि प्रधानमन्त्री हुँदा भारतको कुरा नमानेर गल्ती गरेको समेत उल्लेख गरेका छन् । यसरी भारतप्रति त्वम् शरणम् भएर भारत जान लागेका प्रचण्डप्रति नेपाली जनताले निगरानी गर्नु अहिलेको प्रमुख आवश्यकता देखिन्छ ।












