वैकुण्ठ गिरी
२५ भदौ, पर्वत । पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग १ ज ५१०२ नम्बरको जीप सडकबाट तल पल्टिँदा तीन जनाको ज्यान गएको हो ।
म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ–९ का ५० वर्षीया दिलकुमारी बुढाथोकी र ६० वर्षीया हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । घटनामा आठ जना यात्रु घाइते छन् ।
घाइते मध्ये रिवाङ–९ कास्कीकी १४ वर्षीया अमृता पुनको अवस्था गम्भीर रहेको छ । उनको म्याग्दी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ । बाँकी सात जना घाइतेको म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट ६६ मिटर तल खसेको छ । ब्रेक फेल भएका कारण जीप दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।













