२४ भदौ, काठमाडौं । नेविसंघभित्रको विवाद मुस्किलले मिलाएको कांग्रेसमा अब तरुण दलको विवाद बल्झिएको छ । कांग्रेसको भ्रातृ संगठन तरुण दल फुटाउने भन्दै तरुणदलका एक चौथाई केन्द्रीय सदस्यहरूले चेतावनी दिएका छन् । शुक्रबार काठमाडौमा असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावी कुल्चन खोजेको आरोप लगाए ।
कार्यक्रमका सभापति एव्म केन्द्रिय समितिको तर्फबाट नेतृत्व गरिरहेका रमेशप्रसाद खरेलले विधिसम्मत महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै मागहरूलाई वेवास्ता गरिए देश भर समानान्तर समिति गठन गरेर चुनावी मैदानमा उभिने चेतावनी दिए ।
असन्तुष्ट पक्षले अघि सारेका मागहरुमा कतिपय जिल्लामा एक पक्षीय ढंगबाट विवादस्पद काम कारवाही गरे गराएकोमा उक्त कार्य तत्काल बन्द गर्नुपर्ने, महाधिवेशनबाट कुनै पनि जिल्ला बञ्चित गर्न नपाइने, तत्काल जिल्ला अधिवेशन गरि महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गरी महाधिवेशनको मिति र स्थान तय गर्नुपर्ने लगायत छन् ।












