२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग असोज ३१ गते भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यालयमा पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री र कुटनीतिक मामिलाका जानकारहरुसँग सुझाव लिने क्रममा आफ्नो भ्रमण तालिकाबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड मोदीको निम्तामा भदौ ३० गते भारत जाने कार्यक्रम छ । भ्रमणमा गएको भोलिपल्ट आफू औपचारिक भेटघाटमा व्यस्त हुने र अर्को दिन हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा निर्मित जलविद्युत आयोजनाको अवलोकनमा जाने तालिका रहेको उनले जानकारी दिए ।
आफ्नो आसन्न भारत भ्रमणलाई लिएर विभिन्न विश्लेषण भैरहेकोप्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणबारे कुनै किसिमको आशंका नगर्न आग्रह समेत गरे । नेपालका जुनसुकै प्रधानमन्त्री पनि अन्य देशमा जाँदाभन्दा भारत जाँदा आशा र आशंका बढी गर्ने प्रवृत्ति रहेको भन्दै आशा र आशंका गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।
आफ्ना भनाइपछि प्रधानमन्त्री दाहालले कुटनीतिक मामिलाका जानकारहरुसँग भ्रमणमा उठाउनुपर्ने विषयबारे सुझाव मागेका थिए । त्यसक्रममा उनीहरुले नेपाल र भारत नजिकका छिमेकी भए पनि संविधान जारीपछि दुई देशको सम्बन्धमा चिसोपना देखिएको भन्दै त्यो चिसोपना सदाका लागि हटाउने गरी सम्बन्ध सुधार गर्न सुझाव दिएका थिए ।
भारत जानु पहिले नै संविधान संशोधनको प्रस्ताव संसद्मा पेश गर्न पूर्वपरराष्ट्रमन्त्रीहरुले सुझाव दिएका थिए । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले संशोधन प्रस्ताव संसद्मा पेश गरेर जाँदा यो विषयमा भारतले सुझाव दिन नपाउने धारणा उनीहरुले व्यक्त गरेका थिए ।












