२१ भदौ, काठमाडौं । शान्ति तथा पूर्ननिर्माणमन्त्री एवम् कांग्रेस कोषाध्यक्षले कांग्रेसप्रति नै असन्तुष्टि व्यक्त गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधनका लागि कांग्रेसले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।
यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने र देशमा शान्ति पनि नआउने बताइन् । त्यसका लागि मधेशमा दुई प्रदेश हुनुपर्नेमा आफूले पहिलादेखि नै अडान लिँदै आएको बताउँदै यादवले भनिन्, ‘झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनैपर्छ ।’
यादवको यो अभिव्यक्ति कांग्रेसको धारणाभन्दा फरक धारणा हो ।
उनले मधेशी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भने पनि तत्काल तीन चारवटा बुँदामा संशोधन गरेर भए पनि अघि बढ्नुपर्ने बताउँदै थपिन्,‘संविधान संशोधन विना मुलुकमा शान्ति आउन सक्दैन् ।’
दलहरुवीच सहमति नभए चुनाव हुन नसक्ने बताउँदै मन्त्री यादवले भनिन्,‘छिट्टै संविधान संशोधन गरेर स्थानीय निकाय लगायत तीन वटै निकायको चुनाव गराउनुपर्छ, अनि संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।’












