२१ भदौ, काठमाडौं । नेकपा एमालेका मधेसका नेता लालबाबु पण्डितले अहिले छिमेकी भारतको कुरा मानेर संविधान संशोधन गरे भोलि मधेश टुक्र्याउने अर्को प्रस्ताव आउने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पण्डितले हिजो संविधान जारी गरेका नेताहरुलाई खुट्टा नकमाई आफ्नो अडानमा रहन समेत आग्रह गरे । उनले भने, ‘भारतले अहिले मधेश शान्त चाहियो भनेको छ र उसको भनाइअनुसार जस्तातस्तै गर्ने हो भने भोलि उसले भन्ने छ कि अलग मधेश, स्वतन्त्र मधेश, लटपटाउनेछ, भोलि भन्नेछ कि स्वतन्त्र मधेश नै मेरो मान्यता हो । यस्तो हिसाबले संविधान संशोधन गर्ने कुरा गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ?, स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’
कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने, ‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दैछन् ।’












