२१ भदौ काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक बृद्धिप्रसाद आचार्यको अवधि सकिएपछि यो कम्पनी प्रमुखविहीन बनेको छ । आचार्यको दुई वर्षे कार्यकाल आइतबार सकिएको छ भने सरकारले नयाँ प्रबन्ध निर्देशकको नियुक्ति गरेको छैन । आचार्यलाई तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजालले मोटो रकम खाएर नियममा नभएको प्राविधिक व्यक्तिलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेका थिए । कर्मचारीको आन्दोलनदेखि संसदीय समितिको स्पष्टिकरणपछि अबदेखि प्राविधिक व्यक्तिलाई प्रमुखमा नियुक्त नगर्ने निर्णयसहित आचार्यले निरन्तरता पाएका थिए ।
पुनः सोही पदमा नियुक्तिका लागि आचार्य दौडधूपमा लागेका छन् । २०७१ भदौ २० गते देखि प्रमुख पदमा रहेका आचार्यको कार्यकाल २०७३ भदौ १९ गते सकिएको हो । प्रबन्ध निर्देशक पदका लागि आचार्यलगायतका १३ जना प्रतिस्पर्धामा रहेको जनाइएको छ।
सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको तयारी समेत गरेको छैन । नियुक्तिको तयारीका लागि अझै एक साता लाग्ने जनाइएको छ । नेपाल टेलिकमको बजार हिस्सा दूरसञ्चार क्षेत्रमा ५७ प्रतिशतको हारहारीमा छ ।
देशकै अग्रणी दूरसञ्चार प्रदायक कम्पनी प्रमुखविहीन हुँदा दैनिक कार्य सञ्चालन तथा नीतिगत तथा प्राविधिक निर्णयहरु रोकिने अवस्था आएको छ । यसले टेकिलमको सेवामा समेत असर पर्ने जानकारहरु बताउँछन् ।












