१७ भदौ, काठमाडौं । पूर्व वडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्ने महेन्द्र मञ्जिलको विद्युत लाइन काटेर आलोचना खेपेको सरकारले पूर्व राजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबारको समेत विजुली काटेको छ । नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ । महेन्द्र मञ्जिलको लाइन काटेका कारण विरोध भएपछि सरकारले २४ घन्टा नवित्दै लाइन जोडेको थियो । तर यतिवेला सरकार आफैंले तिनुपर्ने विद्युत महसुल नतिरेको भन्दै ज्ञानेन्द्र निवासको विजुली काटेको हो ।
बिहीबार साँझदेखि लाइन काटिएको पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले जानकारी दिएका छन् सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।
नागार्जुन दरबारको ७१ लाख रुपैयाँ महसुल बक्यौता बाँकी रहेको छ । नागार्जुन दरबारको विद्युत महसुल संस्कृति मन्त्रालयलयमार्फत सरकारले नै तिर्नुपर्ने भए पनि पनि उर्जामन्त्रालय अन्तरगतको विद्युत प्राधिकरणले ज्ञानेन्द्र निवासलाई अँध्यारो पारिदिएको हो ।












