१६ भदौ, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको नियतमाथि आशंका उत्पन्न भएको बताएका छन् । पार्टीको मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको तर अहिलेसम्म त्यसतर्फ सरकारले चासो नदिएको आरोप लगाए ।
संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नहुनुले सरकारप्रति आशङ्का हुनु स्वाभाविक भएको धारणा उनले व्यक्त गरे । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उनले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए । संविधान संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा उनको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्न नहुने धारणा समेत उनले व्यक्त गरे । संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यो समस्यालाई समाधान गर्नुपर्ने उनले बताए ।












