१५ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता साझेदार माओवादी केन्द्रलाई अप्ठेरो पार्ने कदमको थालनी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा आफ्नो दल सरकारमा सामेल भएका वेला देउवाले भने विदेशबाटै माओवादी केन्द्रविरुद्धको योजना सुरु गरेका हुन् । माओवादीलाई अप्ठेरोमा पर्ने गरी उनले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमार्फत योजना अगाडि बढाएका हुन् । देउवाले अगाडि बढाएको माओवादीविरुद्धको पहिलो कदमको समाचार पढ्नुहोस् :
शैक्षिक निकायमा भागण्डाका लागि सबैभन्दा बढी तालाबन्दी गर्दै आएको नेपाल विद्यार्थी संघले कांग्रेसको भागमा शिक्षा मन्त्रालय नपरेपछि शिक्षा क्षेत्रमा राजनीतिक भागवण्डाको अन्त्य गर्न माग गरेको छ । वुधबार आफ्नै कार्यालय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघले विश्व विद्यालय लगायत सवै तहका शिक्षालयमा पदाधिकारी नियुक्ति राजनीतिक भागवण्डाका आधारमा नगरी प्राज्ञिक क्षमताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट गर्न माग गरेको हो ।
नेविसंघको नयाँ नेतृत्वले यस्तो माग मात्र गरेको छैन अर्को त्यस्तै उपयुक्त माग पनि गरेको छ । त्यो हो १६ वर्षमुनिका विद्यार्थीका लागि सदस्यता वितरण नगर्ने । नयाँ पुस्ताका विद्यार्थीमा कम्युनिस्ट पार्टीका संगठनहरुको प्रभाव बढेपछि नेविसंघले यस्तो कुरा बताएको हो । नवआगन्तुक विद्यार्थीहरुमा नेविसंघ भन्दा विभिन्न टुक्रामा विभाजित कम्युनिस्ट पार्टीको प्रभाव परेपछि नेविसंघको सदस्यतामा कमी आएको छ । नेविसंघको सदस्यतामा कमी आउनुको कारण देखाउनकै लागि नेविसंघले यस्तो निर्णय गरेको नेविसंघभित्रैकै एक नेताले नेपालदेशडटकमलाई जानकारी दिए ।
त्यस्तै नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने समेत घोषणा गरेको छ । सत्ता साझेदार दल माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय परेका कारण राजनीतिक नियुक्तमा उसको प्रभाव पर्ने भएकोले राजनीतिक भागवण्डा नगर्न माग गरेको नेविसंघले माओवादी केन्द्रको संगठन कमजोर भएका वेला स्ववियु निर्वाचन गर्न समेत दवाव दिने घोषणा गरेको हो ।
नेविसंघका यी दुई घोषणा योजनावद्ध रुपमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले अगाडि बढाएको स्रोतले बतायो । स्मरणीय छ नेविसंघका नवनिर्वाचित अध्यक्ष नैनसिंह महर देउवाका अति निकट व्यक्ति हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष नैनसिंह महरले संघको १० बुँदे निर्णय समेत सार्वजनिक गरेका छन् ।













