११ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा अझैसम्म ९ जना बेपत्ता भइरहेका छन् । बाइसजनाको मृत्यु हुनेगरी भएको चितवन कालिखोला बस दुर्घटनामा नौजना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको छ ।
यसैबीच दुर्घटनामा मृत्यु भएका सबै २२ जनाकै सनाखत भएको छ । सनाखत भएका सबै शव परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ जनाको भरतपुरको दुई मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुमध्ये हिजो साँझ ७ बजेसम्म १८ जनाको सनाखत भएको थियो । बाँकी चार जनाको पनि आज सनाखत भएको छ । आज सनाखत हुनेहरुमा रौतहट झुनखुनुवा पत्थरा–३ का ३४ वर्षीय गणेश साह, रौतहटकै बन्जरा–३ की ४१ वर्षीया तुलसाकुमारी सिंह, रौतहटकै १४ वर्षीय कन्चन साह र भारत विहार शिवहर जिल्लाका ११ वर्षीय सन्दिप भगत रहेका छन् ।
घटनामा परी चारजना बेपत्ता भएको अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
रौतहटको गौरबाट पोखराका लागि विहीबार साँझ छुटेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटनामा परेको थियो ।












