९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुकमा विशेष दूत पठाएपछि दुवै देशबाट सकारात्मक नतिजा आएको दावी गरेका छन् । गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले विहीवार माओवादी पार्टी सम्बद्ध विभिन्न ६ वटा महिला संगठनहरुको एकता राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा सरकार भारत र चीन दुवै मुलुकसँग सन्तुलित सम्बन्ध राखेर मुलुकको हित गर्ने पक्षमा रहेको भन्दै त्यसकै लागि दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाएको बताए । उनले दुई उपप्रधानमन्त्रीको भ्रमणबाट छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ ढंगले विकास हुने वातावरण दावी गरे ।
कार्यक्रममा उनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पद् महिलाले पाउनुमा आफ्नो मुख्य भूमिका रहेको दावी पनि गरे । विद्यादेवी भण्डारी आफ्नै प्रस्तावमा राष्ट्रपति निर्वाचित भएको तथा सुशिला कार्कीलाई पनि २०६५ सालमा आफू प्रधानमन्त्री भएकै बखत न्यायाधीश नियुक्त गरिएकाले कार्की प्रधानन्यायाधीश हुन सफल भएको प्रचण्डको भनाइ थियो । त्यस्तै सभामुखमा ओनसरी घर्तीलाई निर्विरोध निर्वाचित गराउन पनि आफैंले भूमिका खेलेको भन्दै समानुपातिक र समावेशी प्रतिनिधित्वका लागि युद्ध गरेको पार्टीका कार्याकर्ताका नाताले महिलाले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखको पद् महिलाले पाउनुलाई गर्वका रुपमा लिनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो दल व्यवस्थापिका संसद्मा तेस्रो स्थानमा रहे पनि सबै शक्तिलाई मिलाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रको काँधमा रहेको भन्दै जिम्मेवारी पूरा गर्न सबैले प्रयास गर्ने बताए ।












