८ भदौ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र आफूले छाडेको दरबारमा सरकारले विद्युत लाइन काट्दाको परिणामले भने उनी खुशी भएका छन् । पूर्वमुमा वडामहारानीले मैनवत्ती बालेर रात कटाएको कारुणिक कथा सुनेर नेपालीहरुको मन पग्लेका वेला पूर्वराजा ज्ञानेन्द्रले भने खुशी व्यक्त गरेका छन् । मुमा वडामहारानीले अँध्यारोमा रात विताउनुपर्ने कारणका रुपमा आफूलाई सुपुत्र ठान्ने ज्ञानेन्द्रले डिजेलसमेत व्यवस्था गर्न नसकेकोमा हीनता बोध गरेनन् बरु खुशी व्यक्त गर्दै उनले जनताका नाउँमा प्रेस विज्ञप्ती जारी गरेका छन् । वुधबार जारी गरिएको विज्ञप्तीमा उनले यस्तो भनेका छन् (ह्रश्व दीर्घसहित जस्ताको तस्तै) :
‘पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट बक्सेको धन्यवाद
ममतामयी श्री ५ मूमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको नारायणहिटी राजदरबार परिसरस्थित निवासस्थान महेन्द्र मन्जिलको विद्यूत आपुर्ति का६िएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक संजाल एवं आमसन्चार माध्यामबाट व्यक्त असहमति अविस्मरणीय रहेको हामीले ठानेका छौं ।
नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको सम्बन्ध यस प्रकरणाबाट उजागर भएको हाम्रो ठम्याइ छ । जनताको दूस्खमा राजा र राजाको दूस्खमा जनताको साथ रहने परम्परागत मुल्य र मान्यता देशमा जीवित रहेको सन्दर्भका रुपमा पनि हामीले यसलाई लिएका ५ौं । हामी बीचको सूसम्बन्ध भविष्यमा पनि स्थिर र थप मजबूत रहने विश्वास लिएका छौं ।
विद्यूत प्रसारण सूचारु गर्न वातावरण बनाएर सहयोग पूर्याउने आम नेपाली जनता एवं सन्चार माध्यमप्रति कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यस्तै असावधानीवस भएको त्रूटि समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी उर्जा मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छौं ।’
पूर्वराजाको यो विज्ञप्तीले उनमा खुशीको संचार भएको स्पष्ट देखिन्छ । एक पुत्र भएको हैसियतले आमाका लागि आकस्मिक समस्याका लागि जेनरेटरका लागि डिजेलको समेत व्यवस्था नगरिदिएका उनले आमाले अँध्यारोमा विताएको दुःखभन्दा जनताले सरकारको आलोचना गरेकोमा उनलाई खुशी लागेको छ । एउटी वयोवृद्ध महिलाप्रति मानवीयताका आधारमा सामाजिक संजालमा व्यक्त भएका धारणालाई ज्ञानेन्द्रले राजतन्त्रको समर्थनमा व्यक्त भएका धारणा ठानेर गमक्क परेर विज्ञप्ती जारी गरेका छन् । यसले उनी अझै पनि दिवास्वप्नमा रमाउन छाडेका छैनन् भन्ने मात्र स्पष्ट हुँदैन यस्तै घटनाको पुच्छर समातेर राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको देखिन्छ ।
तर विज्ञप्तीमा भाषा चाहिँ राजपरिवारका मान्छेका अगाडि जोड्ने जस्तै वडा र महाअनौठो छ । हिजोको ‘राजआवाज’ अब पूर्वराजा ज्ञानेन्द्रका भाषामा ‘जनआवाज’ भएको छ ।
विद्युत लाइन काटिएकोमा जनताले विरोध गरेको भन्दै खुशी व्यक्त गरिएको छ र गणतन्त्रात्मक सरकारको विरोध गरिएको छ । तर समयमै लाइन जोडिदिने सरकार र मन्त्रालयलाई धन्यवाद समेत दिइएको छ । यो कस्तो गोलमटोल भाषा ? के ज्ञानेन्द्रले यस्तै गोलमटोल रुपमा राजतन्त्र फर्कने ठानेका त होइनन् ?












