७ भदौ, काठमाडौं । मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत र चीन गएका दुई उपप्रधानमन्त्रीको ब्रिफिङमा सीमित भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार अपरान्ह बसेको मन्त्रीपरिषद्को बैठक भारतबाट मंगलबार नै फर्किएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र केही दिन पहिले चीन भ्रमणबाट फर्किएका उपप्रधानमन्त्री कृष्ण बहादुर महराको ब्रिफिङमा सीमित भएको हो । ब्रिफिङका क्रममा दुवै उपप्रधानमन्त्रीले छिमेकी मुलुकले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताएको संचारमन्त्री राम कार्कीले जानकारी दिए ।
बैठकमा आपूर्तिमन्त्री दीपक बोहोराले बजार अनुगमनका क्रममा हालसम्म गरिएको सिलबन्दी र अन्य कारवाहीका बारेमा जानकारी गराएका थिए । बैठकले राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा सम्बन्धी विधेयक थप छलफलका लागि भन्दै समितिमा पठाएको छ ।











