उर्जा मन्त्री जनार्दन शर्माले समयमा विद्युत महसुल नबुझाउने ठुला ग्राहकको लाइन काटेर तीनदिन भित्र जानकारी दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । ‘म प्राधिकरणका कार्यकारी निर्देशक र सञ्चालक समितिलाई महसुल नबुझाउने ठुला ग्राहकको विद्युत लाइन तत्काल काट्न निर्देशन दिन्छ’, नेपाल विद्युत प्राधिकरणको ३१ औं वार्षिक उत्सवमा बोल्दै बुधबार उनले भने, ‘त्यसको जानकारी मलाई तिन दिनभित्र दिनुस् ।’ उनले कार्यक्रममा दिएको मौखिक निर्देशनलाई आफुले लिखितमा समेत पठाउने जानकारी दिए ।
‘मलाई सस्तो लोकप्रियता चाहिएको छैन,’ उनले भने, ‘तर प्राधिकरणका कार्यकारी निर्देशक र कर्मचारी युनियनका साथीहरु गएर लाइन काट्नुस्, पैसा नतिर्नेलाई विद्युत दिइरहनु आवश्यक छैन ।’ मन्त्री शर्माले ‘इस्टिमेट’ अनुसार समयमै काम अघि नबढाई ‘भेरिएसन’ बढाउनेलाई आफुले कारबाही गर्ने बताए । ‘आवश्यकता विनै भेरिएसन बढाइएको गुनासो पाएको छु,’ उनले भने, ‘त्यस्तो हो भने कडा कारबाही हुन्छ ।’ प्रसारण लाइन नबन्दा उत्पादित बिजुली समेत खरिद गर्ने बाटो नहुने अवस्था देखिएको भन्दै मन्त्री शर्माले तत्काल प्रसारण लाइन योजना अघि बढाउन निर्देशन दिए ।

प्राधिकरणका कर्मचारीले उठाएका माग जायज भए तत्कालै पुरा गर्न एक साताभित्र त्यसको विस्तृत विवरण दिन उनले उर्जा सचिवलाई निर्देशन समेत दिए । समयमा काम नगर्ने कम्पनीहरुले प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरिसकेको भए पनि लाइसेन्स खारेज गर्न आफु पछि नपर्ने शर्माले बताए । ‘जसले काम गर्दैनन् तिनलाई लाइसेन्स लिएर बस्ने अनुमति दिने पक्षमा म छैन,’ शर्माले भने, ‘त्यस्ताको अनुमति तत्काल खारेज गर्ने प्रकृया अघि बढाइन्छ ।’नेपालको जलस्रोतबाट व्यवसायीक रुपमा कति विद्युत उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन समेत नभएको भन्दै मन्त्री शर्माले जल तथा उर्जा आयोगलाई तत्काल यस्तो अध्ययन थाल्न निर्देशन दिएको जानकारी दिए ।











