४ भदौ, काठमाडौं । आयल निगमको लापरबाहीका कारण बजारमा पुनः इन्धनको अभाव देखिएको छ । मन्त्री भएलगत्तै बजार अनुगमन गरे पनि आपूर्ति मन्त्री दीपक बोहराले पनि बिनाकारण बजारमा पेट्रोल अभाव हुँदा पनि कुनै कारबाही गर्नुभएको छैन । झन्डै ५ दिनदेखि उपत्यकामा रहेका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ को सूचना टाँसिएका छन् । केही सरकारी स्वामित्वमा सञ्चालित पम्पमा पेट्रोल वितरण भए पनि सर्वसाधारणको भीड अत्यधिक छ ।
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बजार मागअनुसार पेट्रोल वितरण नगर्दा अभाव भएको बताउनुभयो । आयल निगमले भने तीन दिन लगातार सार्वजनिक विदा परेकाले पेट्रोल वितरणमा कमी आएको जनाएको छ । तर यसका लागि निगमले पहिले नै व्यवस्था गर्न आवश्यक रहेको पेट्रोलियम डिलर्स एसोसिएसनको भनाइ छ । तीन दिनका लागि ९ सय किलोलिटरभन्दा बढी पेट्रोल वितरण त्यस्तो नभएको अध्यक्ष प्रधानले बताए । पेट्रोल नहुँदा उपत्यकाका करिब ९० प्रतिशत पम्पहरू बन्द रहेको समेत प्रधानको दावी छ ।
उपत्यकामा १ सय ३३ पेट्रोल पम्पहरू छन् । तीमध्ये ८ वटा सरकारी स्वामित्वका हुन् । निगमका अनुसार पेट्रोलको दैनिक माग ३ सय ५० देखि ४ सय किलोलिटर छ । प्रधानका अनुसार थानकोट डिपोबाट साउन ३१ गते ३ सय ८७ किलोलिटर पेट्रोल वितरण भएको थियो । तीमध्ये ९८ किलोलिटर सरकारी स्वामित्वमा रहेका पम्पलाई वितरण भएको थियो । साउन ३२ गते ३ सय ९० किलोलिटर वितरण गरिएको थियो । जसमध्ये ९६ किलोलिटर सरकारी पम्पलाई थियो ।
निगमका प्रवक्ता भानु खनालले भने राजधानीमा इन्धनको अभाव नभएको दावी गरेका छन् । सार्वजनिक विदा भएकाले केही पम्पहरू बन्द भएको दावी उनले गरे ।
आपूर्ति मन्त्रीले बाहिर देखाउनका लागि अनुगमन गरे पनि भित्री रुपमा कालोबजारीलाई प्रश्रय दिनका लागि यस्तो गरिएको विश्लेषण सरोकारवालाहरुले गरेका छन् । राष्ट्रिय उपभोक्त मंचका अध्यक्ष प्रेमलाल महर्जनले कालोबजारीलाई बढावा दिने योजनाअनुसार नै यस्तो भएको हुनसक्ने प्रतिक्रिया दिए ।












