३ भदौ, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । आज दिउँसो उनले सिंहसँग भेटवार्ता गरेका हुन् । सिंहले निधिसँग लञ्च बैठकको आयोजना गरेका थिए ।
त्यसै लगत्तै निधिले पौने ३ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । नेपालमा मामिलामा अनुदार देखिँदै आएकी स्वराजसँगको निधिको भेटवार्तालाई सम्बन्ध सुधार्ने कडीका रुपमा रहेको बताइएको छ ।
आजै साँझ ६ वजे निधीले भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई भेटघाट गर्ने तय भएको छ । निधिले शानिबार विहान भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा निधि बिहीबार पाँच दिने भ्रमणको लागि आएका हुन् । निधीले दाहालको भारत भ्रमणको मिति तय गर्नुका साथै अन्य द्विपक्षीय भेटघाटको मिति तय गर्ने छन् । नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध कायम गर्न तयार रहेको दाहालको सन्देश लिएर निधी आएका छन् । साथै नयाँ सरकारको प्राथमिकता विकासका परियोजनाहरु रहेको सन्देश भारतलाई दिन समेत दाहालले निधीलाई सुझाएर पठाएका छन् ।
दिल्ली आइपुगेका निधिको सम्मानमा भारतस्थित नेपाली दूतावासले रात्री भोजको आयोजना गरेको थियो । सो रात्री भोजमा नेपालका लागि भारतीय पूर्व राजदूतहरु राकेश सुद, शिवशंकर मुखर्जी, केभी राजन, जयन्त प्रसाद र विपक्षी कांग्रेसका नेता करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिती थियो । पूर्व राजदूतहरुले निधीसँग समसामयिक विषयमा कुराकानी गरेका थिए ।












