२ भदौ, काठमाडौं । फास्ट ट्रयाक नेपालले नै निर्माण गर्न छाडेर भारतलाई दिनुपर्छ भनी लविङ गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधि विहीबार प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका निधिले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्ध सुधार्ने निहुँमा गरेको भारतभ्रमणमा कतै रहस्यमय कार्य गर्ने हुन् कि भन्ने आशंका यतिवेला जन्मिएको छ ।
भारत प्रस्थान गर्नुअघि निधिले प्रचण्डको भारत भ्रमण भदौ महिनाको अन्तिममा गर्ने गरी व्यवस्था मिलाउन आफ्नो भ्रमण केन्द्रित हुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड असोजको मध्यमा संयुक्त राष्ट्रसंघको ७१ औं साधारणसभामा भाग लिन अमेरिका जानुपहिले भारत भ्रमण गर्ने समेत निधिले बताए । नेपालसँग चिसिएको सम्बन्ध सुधार्नका लागि भन्दै निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग शुक्रबार र शनिबार औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसवाहेक भारतीय जनता पार्टी, काँग्रेस आइ लगायतका पार्टीका नेताहरुसँग पनि भेटवार्ता हुने मन्त्री निधिले जानकारी दिएका छन् ।











