२ भदौ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ ।
अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी दिए ।
अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको थियो । विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ ।
अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महरले बताए।
“अध्यक्षबाट विधानविपरीत कार्य विभाजन भएको थियो । त्यसैले अध्यक्षको कार्यप्रति हाम्रो असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।”
अध्यक्ष लामाले सचिवालय सदस्यको कार्य विभाजन गरेपछि महासचिव महर असन्तुष्ट बनेका थिए ।












