१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत कृष्णबहादुर महराले बोइजिङमा उच्चस्तरीय भेटवार्ता गरिहेका वेला भारतका लागि विशेष दूत तोकिएका विमलेन्द्र निधि भने भारत जानका लागि जहाजको टिकट मिलाउनै व्यस्त रहेका छन् । उपप्रधानमन्त्री निधि विहीबार भारत जाने निश्चित भए पनि वुधबार साँझसम्म भारत जानका लागि टिकट समेत व्यवस्था हुन नसकेको निधि निकट स्रोतले नेपालदेशडटकमलाई जानकारी दिएको छ । अर्कोतर्फ भारतमा भन्दा चीनमा पहिले विशेष दूत पठाइएको भन्दै भारतले भित्रभित्रै असन्तुष्टी जनाएको समेत स्रोतले बताएको छ ।
यसैबीच निधिको भारत भ्रमणका क्रममा निधिसँग भारतले प्रमुख तीन एजेण्डाप्रति चासो दिने जानकारी नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बताएका छन् ।
वुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै भारतीय राजदूत रेले निधिको भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने मुख्य एजेण्डा रहेको बताए । त्यस्तै दोस्रो एजेण्डामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी गर्ने विषय दोस्रो एजेण्डा र राष्ट्रपति विद्यादेवी भण्डारीको यसअघि स्थगित भ्रमणको मितिका बारेमा छलफल गर्ने तेस्रो एजेण्डा रहेको रेले खुलासा गरेका हुन् । यी तिन वटै उद्देश्यमा केन्द्रित रहेर मन्त्री निधिले भारत सरकारको उच्चतहमा वार्ता गर्ने गरी वातावरण मिलाइएको रेको भनाइ छ ।
भारत जाने तयारीमा रहेका निधिले भने वुधबार पनि भ्रमणका एजेण्डाबारे आन्तरिक र भारतीय पक्षसँग परामर्श गरेका छन् ।












