१ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित चीनको बेइजिङमा आज भेटवार्ता गरेका छन् । भेटवार्ता गर्दै महराले प्रधानमन्त्री प्रचण्डले खछयाङलाई पठाएको निमन्त्रणा हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको विशेषदूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महरा र लीका बीचमा आधाघन्टा कुराकानी भएको उपप्रधानमन्त्री महराका सञ्चार सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिएका छन् ।
चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा उनीहरु बीचमा कुराकानी भएको थियो ।
सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराएका थिए ।
ती उच्चस्तरीय भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालय तदारुकताका साथ आवश्यक तयारी गर्नेबारे पनि उनीहरुबीच कुराकानी भएको थियो ।
उक्त विषयमा उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
त्यसैगरी भेटवार्तामा दुई देशको भ्रमणका विषयमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश चीनका प्रधानमन्त्रीलाई सुनाएका थिए ।
चिनियाँ प्रधानमन्त्री लीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाएर लैजान चीनको चाहना रहेको उपप्रधानमन्त्री महरालाई अवगत गराएका थिए ।
यसैगरी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मङ्गलबार भेटवार्ता गरेका थिए । सो भेटमा उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र दिएका थिए ।












