३२ साउन, काठमाडौँ । सरकारले द्वन्द्वग्रस्त अफगानिस्तानमा फेरि कामदार पठाउने तयारी थालेको छ । सुरक्षाको पूर्ण प्रबन्ध गरेर अफगानिस्तानमा कामदार पठाउने तयारी गरिउको हो । सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदन लागू गर्दै पूर्ण सुरक्षाको प्रबन्ध गरेर अफगानिस्तानमा कामदार पठाउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।
केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्ण सुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई प्रतिवेदन बुझाउँदै द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्ण रुपमा सचेतना अपनाउन सुझाव दिएको हो । सचिव लम्साल नेतृत्वमा सरकारले गत असार ९ गते उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित वासस्थानको सुनिश्चिता गरेर मात्रै चौकीदारका रुपमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कार्यदलले दिएको सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरिने र पूर्ण रुपमा पालना गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्रीले द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने विषय नै गम्भीर भएकाले त्यसमा पूर्ण रुपमा सचेतना अपनाउनुपर्नेमा जोड दिए ।












