३२ साउन, काठमाडौं । वर्तमान राजनीतिक दलहरुका नेतृत्वको व्यक्तिगत स्वार्थका कारण निराश बनेका जनता भावी नेतृत्वका दावेदार विद्यार्थी संगठनहरुको भ्रदगोल स्थितिले झनै निराश बनेका छन् । वर्तमान नबनेपनि भविष्य बन्ने आशा गरेका जनतलाई प्रमुख दलका विद्यार्थी संगठनहरुमा लोकतान्त्रिक प्रक्रिया स्थापित नहुँदा भावी राजनीति समेत प्रभावित हुने भएको हो । सबै राजनीतिक दलहरुमा विद्यार्थी संगठनको नेतृत्वका लागि माउ पार्टीका नेताहरुले हस्तक्षेप गरी आफू निकटलाई स्थान दिने प्रवृत्ति विद्यमान रहँदा विद्यार्थी संगठनहरुको अवस्था भद्रगोल हुन पुगेको हो ।
साउन २३ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाल विद्यार्थी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशनमा देखिएको पार्टी नेतृत्वको हस्तक्षेपका कारण नेविसंघ अस्तव्यस्त बनेको छ ।
नौ वर्षपछि हुन थालेको नेवि सङ्घको महाधिवेशन तीन दिनका लागि भने पनि विवादका कारण महाधिवेशन लम्बिएको हो । ६ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गर्ने जिम्मा पाएका अध्यक्ष रञ्जित कर्णको कार्यकाल ४ वर्ष पूरा भइसकेको छ ।
प्रतिनिधि विवादका कारण नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आइतबार झडपसमेत भएको थियो ।
नेकपा एमाले निकट अनेरास्ववियुको गत वर्ष माघमा सम्पन्न २१औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि विवादका कारण १० दिन लम्बिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद हुँदा महाधिवेशन लम्बिएको थियो ।
यस्तै, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको १९औँ राष्ट्रिय महाधिवेशनले विवादबीच नेतृत्व चयन गर्न सकेन र पछि सङ्गठनको बैठकद्वारा संयोजकमा रमेश मल्ललाई तोकियो । मल्लपछि भर्खरै क्रान्तिकारीको भेलाबाट नरेन्द्र न्यौपानेलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाइएको छ ।
यी उदाहरण हुन् नेपालका प्रमुख विद्यार्थी सङ्गठनका महाधिवेशनका क्रममा देखिएका किचलो । सङ्गठनभित्र विवादका कारण तीनदिनमा सकिने महाधिवेशन दश दिन लाग्ने गरेको छ । पार्टीभित्र प्रमुख सङ्गठनका रुपमा चिनिएका विद्यार्थी सङ्गठन अहिले आफ्नो आन्तरिक विवादमा पर्न थालेपछि सङ्गठनलाई चलायमान बनाउन सकेका छैनन् ।
राजनीतिक उपलब्धि हासिल गरिसकेको अवस्थामा आफ्ना आन्दोलनलाई उचाइमा पु¥याउन नसकेको आरोप लाग्ने गरेका विद्यार्थी सङ्गठन आफ्नै सङ्गठनभित्रको किचलोमा फस्दै गएका छन् जसले गर्दा विद्यार्थी आन्दोलनलाई पनि सङ्गठनले राम्रोसँग हाँक्न सकेका छैनन् ।
विद्यार्थी सङ्गठन पार्टीभित्रको गुटउपगुटको चङ्गुलमा फसेर विवादमा पर्ने गरेर महाधिवेशन नै लम्ब्याउने गरेका छन् । पटकपटक तोकेर पनि स्थगित भएको नेविसङ्घको महाधिवेशन प्रतिनिधि छनोटमा कुरा नमिल्दा विवाद देखिएको छ ।
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पार्टीभित्रको देखिएको फरक समूहका कारण अहिले सङ्गठन आन्तरिक विवादमा पर्ने गरेको बताउँछन् । उनी विद्यार्थी सङ्गठन आफैँले पनि सङ्गठनलाई व्यवस्थापन गर्न नसक्दा विवादमा पर्ने गरेको बताउँछन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शर्माले विद्यार्थीको सङ्गठनभित्र विवाद देखिँदा विद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउने भन्दै सङ्गठनले आफ्नो व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए ।
अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले पार्टीभित्रका गुटको सिकार विद्यार्थी सङ्गठनलाई बनाएर विवाद पर्ने गरेको बताए । उनले राजनीतिक परिवर्तनपछि विद्यार्थी सङ्गठन आफ्नो भूमिका के हो भनेर स्पष्ट नहुँदा पनि किचलो देखिएको तर्क गर्दछन् ।
‘‘अहिले सङ्गठनहरु दिशाविहीन भएका छन् । आन्दोलन के हो भन्ने थाहा छैन’’, उनी भन्छन् । ‘‘सङ्गठनभित्र गुट चलाउने मात्र गर्दछन् । अनि महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा विवाद देखिन्छ ।’’
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गैरेले सङ्गठनलाई विवादरहित बनाउनका लागि व्यवस्थापनलाई दिगो बनाउनुपर्नेमा जोड दिए।
अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने विद्यार्थी नेता विचारमा नभई नेताहरुको इच्छाअनुसार चल्ने भएकाले सङ्गठनमा विवाद देखिएको बताउँछन् । पार्टीभित्रको गुटपिच्छेका नेताले विद्यार्थी सङ्गठन चलाउन खोज्दा समयमा महाधिवेशन नहुने र भए पनि निर्धारित मितिमा नसकिने धारणा न्यौपानेको छ ।
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहनुभएका न्यौपाने विद्यार्थी नेता आमविद्यार्थीको नेता नभई पार्टीका नेताका पुच्छर समात्नाले पनि विवाद देखिने गरेको बताउँछन् ।
‘‘सङ्गठनको काम तत्काल र दीर्घकालीन के हो भन्ने स्पष्ट छैन । विचार र राजनीतिमा पनि परिपक्व देखिएका छैनन्’’, उनी भन्छन् ‘‘त्यसैले विद्यार्थीका नेताहरु पार्टीभित्रका गुटमा चल्ने गरेका छन् ।’’
प्रमुख दलका विद्यार्थी संगठन हाँकेका यी विद्यार्थी नेताको अभिव्यक्तिले समेत विद्यार्थी संगठनहरुको भविष्य उज्यालो नरहेको स्पष्ट हुन्छ । यदि विद्यार्थी संगठनहरु यही रुपमा अगाडि बढे भने नेपाली राजनीतिको भविष्य झनै अन्योलपूर्ण, गुटपरस्ततर्फ केन्द्रित हुने स्पष्ट छ ।














