३१ साउन, काठमाडौं । नेपालमा निजी क्षेत्रबाट दुई केबलकार संचालनमा आइसकेको अवस्थामा तेस्रो केबलकार भने फ्रान्सले बनाइदिने भएको छ । नेपालमा फ्रान्स सरकारले अर्को केबलकार बनाइदिने योजनासहित प्रारम्भिक अध्ययन समेत सम्पन्न गरिसकेको छ ।
फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि र्इच्छा प्रकट गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग फ्रान्सेली राजदूत भेस कारमोनाले सोमबार भेटवार्ता गरी यस्तो र्इच्छा प्रकट गरेका हुन् । सो मार्गमा केबलकार चलाउने सम्बन्धमा डेढ महिनाअघि फ्रान्सेली सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुओम वादेले जानकारी दिए ।
नेपाल र फ्रान्सबीच सन् १९५९ देखि दौत्य सम्बन्ध स्थापना भएको थियो ।
मन्त्री लेखकले फ्रान्स सरकारको सहयोगमा विष्णुमतीदेखि बौद्धनाथसम्म केबलकारको सम्भाव्यता अध्ययन भएकामा धन्यवाद दिँदै सोको निर्माण प्रक्रिया अघि बढाउन फ्रान्स सरकारको सहयोगको अपेक्षा व्यक्त गरे ।












