३१ साउन, काठमाडौं । भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्ने प्रचार भैरहेका वेला यसलाई चिर्नका लागि प्रधानमन्त्री प्रचण्डले आफ्ना विशेष दूतका रुपमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाएका छन् । महरा सोमबार चीन प्रस्थान गरेका हुन् ।
दुई दिने चीन भ्रमणमा महराले प्रमुख तीन एजेण्डा लिएर चीन गएका छन् । चीन प्रस्थान गर्नुअघि महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै तीन एजेण्ड सुनाएका हुन् ।
भारतले बनाएको भनी प्रचार गरिएको नयाँ सरकारलाई चीनले असहयोग नगरोस् भनी स्पष्ट पार्नु महराको पहिलो उद्देश्य रहेको छ। नयाँ सरकार गठनमा भारतको भूमिका नरहेको बरु सहमतिका राजनीतिको सुरुवातका लागि आफूले सरकारको नेतृत्व लिएको सन्देश प्रचण्डले महरासँग पठाएका छन् । वर्तमान सरकारलाई चिनियाँ सहयोग र सद्भाव जारी राख्न र सम्बन्ध अझ मजबुद बनाउन पहल गरिने महराले जानकारी दिए ।
त्यस्तै नयाँ सरकार बनेपछि अघिल्लो सरकारले गरेका सन्धि सम्झौता कार्यान्वयन नरोकिने विषयमा महराले चीन सरकारलाई आश्वास्त पार्ने बताए । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे सहमति भएको थियो । पारवहन सम्झौताको कार्यान्वयका विषयमा समेत महराले जोड दिनेछन् ।
उपप्रधान एवं अर्थमन्त्री महराले चीन सरकारसँग गरेका सम्झौताका राम्र पक्षहरु निरन्तरता दिने विषयमा छलफल हुने जानकारी दिएका छन्।
नयाँ सरकार गठनसँगै अर्को सर्वाधिक चासोको विषय रहेको छ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण। चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी नेपाल भ्रमण हुन नदिन आफूलाई सत्ताबाट झारिएको आरोप एमाले अध्यक्ष केपी ओलीले लगाउँदै आएका छन् ।
यो आरोपमा सत्यता नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले महरामाफृत राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत पठाएका छन् । राष्ट्रपति जिनपिङको भ्रमणको निम्तो आफूले लिएर जाँदै गरेको समेत महराले खुलाए ।
भारतका लागि समेत उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई विशेष दूतका रुपमा पठाउने निर्णय प्रधानमन्त्री प्रचण्डले गरे पनि चीनका लागि तोकिएका विशेष दूत पहिले नै जानुले प्रचण्ड सरकारसँग चीन खुशी हुने वातावरण बनेको विश्लेषण गरिएको छ ।












