३०,साउन,काठमाण्डौं । भारतले नेपालसँग विग्रिए सम्बन्धमा सुधार गर्नका लागि भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उच्च सम्मान दिँदै गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतसँगको विग्रिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री प्रचण्डले भारतमा विशेष दूत पठाउने निर्णयसँग भारतले यो तयारी थालेको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तय गर्ने विषयमा विशेष दूतको रुपमा भारत जाने तयारीमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतीय राजदूत रञ्जित रेबीच समेत यस विषयमा छलफल भएको छ ।

भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अथिति बनाउने बारेमा समेत सोचेको सूत्रहरुको दावी छ । प्रचण्डलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थलमै आउने बताइएको छ । पहिलोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले भारतकै कारण सत्ता छाड्नु परेको बताउँदै आएका थिए । अब भने प्रचण्डलाई भारतले निकै रुचाएको र प्रचण्डले पनि भारतलाई चिढ्याउन नचाहेको अवस्था आउनुलाई अनौठो मानिएको छ ।











