२७ साउन, काठमाडौं । ६ वर्षदेखि स्लाइनमार्फत दिइएको औषधि र पानीका भरमा अनशन बस्दै आएकी गङ्गामाया अधिकारीले आजदेखि स्लाइन लिन छाडेकी छिन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उनलाई दवाव दिनका लागि भन्दै अधिकारीले औषधि र पानीविना आमरण अनशन सुरु गरेकी हुन् ।
नयाँ प्रधानमन्त्रीमा प्रचण्ड आएसँगै उनबाट आफूले न्याय पाउने आशा राखेको बताएकी छिन् ।
अधिकारीले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी थिइन् । यही साउन २१ गते उनले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिएकी थिइन् । प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने कानुन व्यवसायी दिनेश त्रिपाठीलगायतको सहयोगमा अधिकारीले पत्रकार सम्मेलन गरेकी दिइन् ।
गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती विहीबार वीर अस्पतालको क्याबिन नं ७ मा उनलाई भेट्न गएका थिए । तर गङ्गामायाले उनीहरुसँग केही कुरा गरिनन् ।
विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान अधिकारी परिवारले लिएको छ ।
विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।












