२७ साउन, काठमाडौं । चोरका हातमा चावी भन्ने नेपाली उखानलाई कार्यान्वयन गर्दै छिमेकी देशसँग शंकास्पद सम्बन्ध राख्दै आएका दुई नेतालाई नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ती देशसँगको सम्बन्ध सुधारको जिम्मेवारी दिएका छन् । भारतीय योजनाअनुसार काम गर्ने कांग्रेस नेता विमलेन्द्र निधिलाई भारत र चिनसँग रकम माग्ने आफ्नै दलका नेता कृष्णबहादुर महरालाई चीनको सम्बन्धको जिम्मेवारी प्रचण्डले दिएका हुन् ।
आफ्नो सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका दुवै नेतालाई सम्बन्धित देशमा भ्रमणका लागि पठाउने निर्णय प्रचण्डले विहीबारको मन्त्रीपरिषद्बाट गरेका हुन् । नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आफ्ना विशेष प्रतिनिधिका रूपमा महरालाई चिन र निधिलाई भारत पठाउन लागिएको हो ।
भ्रमण मिति नतोकिए पनि आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी सरकारका प्रवक्ता समेत रहेका महराले जानकारी दिए ।
फास्ट ट्रयाक बनाउन भारतको रुचि रहँदै आएकोमा निधिले फास्ट ट्रयाक भारतलाई नै दिनुपर्ने अडान राख्दै आएका छन् । नेपाल आफैले निर्माण गर्न छाडेर भारतलाई फास्ट ट्रयाक दिनुपर्ने योजनामा निधि छन् । महरा भने नेपालमा चिनको हस्तक्षेप बढाउन भूमिका खेल्दै आएका नेता हुन् । सरकार बनाउनका लागि सभासद् खरिदका लागि महराले चिनसँग रकम मागेको अडियो पहिले नै सार्वजनिक भएको थियो । नेपालमा सरकार गठन र विकासका काममा भारतीय हस्तक्षेपलाई सघाउने कार्यमा निधिले भूमिका खेल्दै आएका छन् ।












