२५ साउन, काठमाडौं । जनजाति र मधेसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीले तत्परता देखाउँदा सत्तारुढ घटक कांग्रेसले भने आपत्ति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेशीका माग सम्बोधन गरिने बताए पनि त्यसको खण्डन गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानले कुनै जनजाति र भाषाभाषीमाथि विभेद नगरेको भन्दै प्रतिवाद गरेका छन् ।
संविधान भन्दै सरकारमाथि शंका नगर्न आदिवासी जनजातिसँग आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेको बताए । उनले संघीय गठबन्धनसँग गरेको सहमति अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा पेश गर्नेमा विश्वस्त हुन आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति र मधेशी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने बताए ।
तर कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भने त्यसको प्रतिवाद गरे । संविधानले कुनै पनि जातजाति र भाषाभाषीमाथि विभेद् नगरेको भन्दै नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग पौडेलले आग्रह गरे ।












