२३ साउन, काठमाडौं । नेपाली सेयरबजारमा साताका पहिलो दिन आइतबार पनि गिरावट आएको छ । अघिल्लो साता तीव्र गिरावट आए पनि आज भने सामान्य गिरावट आएको हो । कारोवारको समय सकिने वेलामा नेप्से घटेर बन्द भएपनि सेयर बजारमा आइतबार भने निकै चहलपहल देखिएको छ । नेप्सो दिनभरी बढे पनि अन्तिमतिर मात्र घटेर बन्द भएको हो ।
आइतबार बजार बढेर नेप्से १८०५ अंकसम्म पुगेको थियो । अन्तिममा भने ३.८८ अंक घटेर कारोबार बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार देखिएको छ । दिनभरीमा एक अर्ब ५३ करोड रुपैयाँको किनबेच भएको छ ।
होटल, विकास बैंक, फाइनान्स र अन्य सुचक हरियो भएरै बन्द भए । सुरुदेखि हरियो रहेको बैंक र बिमा भने अन्तिमतिर रातो भए । बैंकिङ ७.२६ अंकले घट्यो भने बिमा ५८.४ अंकले घटेर बन्द भयो । अन्य सुचक भने करिव १८ अंकले उक्लिएको छ ।
बजारमा एनबी बैंकको ११ करोड ५३ लाख, नेपाल बैंकको १० करोड ७६ लाख र सिद्धार्थ बैंकको१० करोड ६५ लाख रफैयाँको किनबेच भएको छ । एभरेष्ट बैंकको आठ करोड ७४ लाखको कारोबार भएको छ ।
माउन्ट मकालु, किसान माइक्रोफाइनान्स र कन्काइ विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओमी माइक्रोफाइनान्सको ९.६७ प्रतिशतले बढेको छ ।
१० प्रतिशतले गुमाउनेमा वोटलर्स नेपाल तराईका लगानीकर्ता छन् । एनएमबी माइक्रोफाइनान्स र महिला सहयात्राका लगानीकर्ता पनि वढि गुमाउने सुचीमा छन् ।














