२३ साउन, काठमाडौं । यो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रायोजित हुन् भन्ने कुरा सार्वजनिक भएको छ । राष्ट्रनायक प्रचण्डलाई काम गर्न देऊ भन्ने फेसबुक पेज बनाएर उनको विज्ञापन सुरु गरिनु यसको प्रमाण हो । फेसबुक पेजमा पैसा तिरेर प्रचण्डको यो पेज लाइक गराउने गरी विज्ञापन गरिएको हो जुन तपाई हामी सबैको फेसबुक पेजको भित्तामा आइपुग्छ । र, त्यसमा स्पष्ट के लेखिएको छ भने = प्रायोजित अर्थात sponsored।
यसको अर्थ हो – ‘प्रचण्डले आफूले काम गर्ने होइनन् कि उनले फेसबुकमा विज्ञापन गरेर आफूलाई हिरो बनाउन चाहन्छन् ।’ उनका निकटवर्तीले गरेको यो प्रचार पूर्वराजा ज्ञानेन्द्रका सल्लाहकारले गरेको चाकडीभन्दा निकै अगाडि छ । प्रचण्ड प्रधानमन्त्री बन्नेवित्तिकै उनका लागि फेसबुक पेजमा लाइक बढाउनुपर्ने आवश्यकता के हो ?
प्रचण्डको पेज लाइक गर्नका लागि फेसबुकमा प्रायोजित गरिएको फेसबुक आइडी हो – प्रचण्ड फर नेपाल( www.facebook.com/prachandafornepal)। नेपालीमा लेखिएको नाम भोलि परिवर्तन गर्न पनि सकिन्छ तर यो www.facebook.com/prachandafornepal आइडी भने परिवर्तन हुन सक्दैन ।
यसो किन भनिएको हो भने प्रचण्डको यो पेजमा एक अनलाइनको समाचार शेयर गरिएको छ । प्रचण्ड आफैं र उनको सचिवालयले भने यो पक्कै नगरेको हुन सक्छ । तर एभरेष्टदैनिकडटकममा प्रचण्ड पुत्र प्रकाश जोडिएको कुरा पहिलेदेखि नै चलेको थियो । तर यहाँ शेयर गरिएको समाचार एभरेष्टअनलाइनमिडियाडटकम बाट छ । कतै पुरानो एभरेष्टबाट छुट्टिएर प्रकाश र उनका ‘हनुमान’हरुले त यस्तो गरेका होइनन् ? प्रश्न उब्जिएको छ । होइन भने प्रधानमन्त्री प्रचण्डलाई यसरी बदनाम बनाउने साहस अरु कसको हुन सक्छ ?
यसलाई पुष्टि गर्ने अर्को स्पष्ट प्रमाण पनि प्रचण्ड पुत्र प्रकाशको प्रशसा गर्दै ‘प्रचण्डलाई काम गर्न देऊ’ नामको पेजमै एउटी विभु भुसाल नाम गरेकी नारी पात्रको स्टाटस शेयर गरिएको छ ? को हुन् उनी ? र, यस्तो लेखिन् :
प्रकाश दाहाल प्रचण्डको छोरा हो । साथै उ १० वर्षे जनयुद्धको अथक योद्धा पनि हो । प्रचण्डका हरेक राजनितिक आरोह अवरोहमा उ सँगै छ । उ अहिले पनि माओवादी आन्दोलनमै छ । प्रधानमंत्रीको सचिवालयमा मात्रै होइन पार्टीको जिम्मेवारीमा पनि छ । अरुजस्तो दुतवासमा बिन्तिपत्र हालेर बिदेश पढ़न पनि गएन । छोरो बिदेश पठाएर कसैकसैले भाईलाई महाबाणिज्यदूत बनाएको पनि सम्झना गरौं, आफनु जीबन संगठनमा अर्पेका कार्यकर्तालाइ बाईपास गरेर बिदेशको पढाई सक्ने बित्तिकै आफनु छोरालाइ टुप्पीमा समातेर युवा संघको केन्द्रीय समितिमा मनोनीत गरेको पनि सम्झना गरौं, संबिधानसभाको चुनाब र पार्टीको चुनाब हारेकालाई सीधै फूल मन्त्री बनाएको पनि सम्झना गरौं । आलोचना मात्रै गरेर आत्माशान्ति नखोजौं । आत्माशान्तिका लागि त ध्यान योग छँदैछ नी !!!
विभु भुसाल को हुन् र उनको यो कुराले के बुझाउँछ बाँकी बुझ्ने कुरा जनताको जिम्मा । के देशको प्रधानमन्त्री वा एक पार्टीको अध्यक्षलाई काम गर्न देऊ भनेर खोलिएको पेजमा उनैका पुत्रको भक्तिगान गर्नु उचित हो ? यो कहाँसम्मको दुरुपयोग हो ? छानविन गर्ने कि नगर्ने ? त्यो पनि जनताकै जिम्मा …














