२० साउन, काठमाडौं । नयाँ सरकारमा मन्त्रीहरु पठाउने विषयमा कांग्रेसमा विवाद भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मन्त्रीको नाम चयनका विषयमा विवाद भएको हो । विवादकै कारण नेता पौडेल पक्षधर कुनै नेताको नाम आज मन्त्रीका लागि पठाइएन । पार्टीको केन्द्रीय समितिमा छलफल गरेर मन्त्रीको नाम पठाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन् । तर सभापति देउवाले भने आफू निकट दुई व्यक्तिको नाम मन्त्रीका लागि पठाएका छन् । देउवा निकट विमलेन्द्र निधिले उपप्रधानमन्त्री र रमेश लेखकले मन्त्री पदको सपथ लिएका छन् । नेता निधिले पार्टी महाधिवेशनमा देउवालाई निशर्त सघाएका थिए भने लेखक सुदूरपश्चिमका देउवा निकट नेता हुन् ।
पहिलो चरणमै मन्त्री बन्ने निश्चित भएका शेखर कोइरालाको नाम समेत समेत पौडेल पक्षको असन्तुष्टीका कारण रोकिएको छ । कोषाध्यक्ष सितादेवी यादवलगायतका व्यक्ति पौडेल पक्षबाट मन्त्रीका लागि पठाउने तयारी भए पनि पार्टी सभापतिसँगको असन्तुष्टीका कारण अन्तिम समयमा रोकिएको हो । अर्कोतर्फ देउवा पक्षकै नेता अर्जुनरसिंह केसी समेत मन्त्रीको सूचीमा रहे पनि गृह मन्त्रालय नपाएका कारण सरकारमा नगएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
कांग्रेसमा मन्त्री पदका आकांक्षी धेरै भएका कारण यतिवेला असन्तष्टी चुलिएको हो । आफ्ना पक्षका नेतालाई चालीस प्रतिशत दिन पौडेलको माग छ भने अब पार्टीमा साठी चालीसको भागवण्डा नहुने देउवा पक्षको भनाइ छ । आफूलाई महाधिवेशनमा सघाएका खुमबहादुर खड्का र पौडेललाई हराउन भूमिका खेलेका कृष्ण सिटौलाका व्यक्तिलाई सरकारम कुन पद दिने भन्ने कुराको टुंगो लगाउनै देउवालाई समस्या परेको छ ।












