२० साउन, काठमाडौं । शेयर बजारलाई जुवाको खाल बताउने माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने वित्तिकै शेयर बजारमा ठूलो गिरावट आएको छ । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट नेपाली शेयर बजारमा ठूलो गिरावट आएको हो ।
प्रधानमन्त्री प्रचण्डले सपथ लिँदै गर्दा शेयर बजारमा ४५.१२ अंकको गिरावट आएको हो । लगातार शेयर बजार उकालो लागिरहेका बेलामा प्रचण्ड नेतृत्वको सरकार आएलगत्तै लगानीकर्ताहरु सशंकित देखिएपछि शेयर बजारमा नकारात्मक असर परेको हो ।
समग्रमा २.४९ प्रतिशतले बजार ओरालो लाग्दा सबै समूहका सूचकहरु पनि रातो भएका छन् । बैंकिङ समूह २.३४ प्रशिशतले ओर्लिँदा होटल समूह ४.५५ प्रतिशतले गिरेको छ । यस्तै विकास बैंक २.७७, जलविद्युत २.२१, वित्त २, बीमा ३.३८, उत्पादनमूलक १.९७ र टेलिक सूचीकृत अन्य समूहको कारोबार १.४८ प्रतिशतले ओरालो लाग्यो ।
दिनभरमा १ अर्ब ५० करोड मूल्य बराबरका २७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ ।
नयाँ सरकारमा खुल्ला अर्थतन्त्रको पक्षधर कांग्रेस समेत सहभागी रहे पनि अर्थमन्त्री माओवादीबाट भएका कारण शेयर बजारको नीतिमा नकारात्मक असर पर्ने विश्लेषण गरिएको छ ।












