१९ साउन । आफूले सरकार छाड्दा विकास नहुने चिन्ता गरेर आउने प्रधानमन्त्रीप्रति लक्षित गर्दै प्रश्न गरेका एमाले अध्यक्ष ओलीले आगामी प्रधानमन्त्रीबाट जवाफ पाएका छन् । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता संसदमा व्यक्त गरेका हुन् । ओलीले देखाइदिएको स्रोतबाटै रकम ल्याएर फास्ट ट्रयाक बनाउने भन्दै प्रचण्डले विदेशी सहयोगलाई अस्वीकार नगर्ने बताए ।
‘कुन पैसा लल्याएर बनाउने हो ? उनले सोधे ‘श्रोत देखाइदिनुस् प्रधानमन्त्रीजी म तपाईले देखाइदिएको श्रोत अनुसार नै बनाउँछु।’ प्रचण्डले मित्रराष्ट्रले सहयोग गरे त्यसै अनुसार, अन्तर्राष्ट्रिय सहयोग आए त्यसै अनुसार र आन्तरिक ऋण उठे त्यसै अनुसार बनाउने जवाफ दिए। प्रचण्डले ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा राजस्व संकलनबाट देशभित्रको साधारण खर्च पनि नचल्ने अवस्था रहेको भन्दै यस्तो बेलामा कसरी विकास गर्छौं भनेर प्रश्न सोध्नु हाँस्यास्पद हुने बताए।
प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले भने–‘प्रधानमन्त्रीज्यु चिन्ता नगर्नुस, फास्ट ट्रयाक हामी आफैं बनाउँछौं, हुलाकी राजमार्ग पनि हामी आफैं बनाउँछौं ।’ उनले केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, चीनसँग पेट्रोलियम पाइप निर्माण लगायतका सबै काम यथोचित ढंगले अघि बढ्ने स्पष्ट पारेका हुन् ।
प्रचण्डले बजेट बिनियोजन गरिएका कुनै पनि काम नरोक्ने तर प्रधानमन्त्री ओलीले देखाएका असम्भव सपना भने पुरा नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीज्यु तपाईले बजेट बिनियोजन गर्नु भएका सबै काम अघि बढ्छन, तर बजेट बिनियोजन नगरिएका तपाइँको अनावश्यक सपना भने पुरा गर्न सकिन्न ।’
प्रचण्डले अथाह सम्भावना भएको देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यो पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । संसदलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न नयाँ सरकार प्रतिवद्ध रहने बताएका थिए । उनले चीन र भारतसँगको सन्तुलित सम्बन्ध कायम गराउनु पर्ने धारणा पनि राखेका थिए ।
छिमेकी बदल्न नसकिने भएकाले दुबै मुलुकसँग उचित सम्बन्ध कायम गर्नुपर्ने बताए । देउवाले चीन र भारतका बिचमा नेपालले खेल्न नहुनेमा पनि जोड दिएका थिए ।












