१९ साउन, काठमाडौं ।मधेसी मोर्चा र संघीय गठबन्धनको आन्दोलन समाप्त भएको प्रष्ट भएको छ । सुरुमा आक्रामक आन्दोलन हुँदै रिले अनशन गरेर भारी विसाउन चाहेको मोर्चा उर्फ गठबन्धनले कांग्रेस र माओवादीसँग तीन बुँदे सहमति गर्दै आफ्नो आन्दोलनको अन्त्य गरेको हो ।
त्यसका लागि गठबन्धनले आज पनि नेपाली कांग्रेस, माओवादीसँग वार्ता गरेको छ । प्रधानमन्त्रीको निर्वाचनभन्दा केही समयपहिले नै अत्तो थापेर महत्त्वपूर्ण मन्त्रालय लिने दाउमा गठबन्धनका नेताहरु रहेको बताइएको छ ।
संसद भवनको शंकर हलमा वार्ता भैरहेको छ । संसदको विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनुअघि सहमतिलाई अन्तिम रुप दिन प्रयास भैरहेको नेताहरुले बताएका छन् ।
यसअघि मंगलबार तीन पक्षका नेताहरुबीच दिनभर वार्ता भएको थियो । सातबुँदे र तीनबुँदे सहमतिको मस्यौदा समेत बनेको थियो । तर, सहमतिको मस्यौदाले अन्तिम रुप लिन सकेन ।
सुरुमा दोस्रो संविधान सभामै नजाने बताएको माओवादीका सुप्रिमो प्रचण्ड प्रधानमन्त्री बन्दै छन् । हिन्दू राज्यका लागि भन्दै सडक आन्दोलन गरेका कमल थापाले सत्ता पाएपछि आन्दोलन छाडिदिए । नेपाली राजीनितका यी नजिर मधेसी दलहरुमा त झन बढी लागू भएको छ । एक सिट लिएर बसेका अनिल झा र राजकिशोरहरुलाई फेरि मन्त्री पद पड्काउन हतार भैसकेको छ । किनभने एक सिटे प्रेमबहादुर सिंह र क्रिश्चियन मिसन नेता एकनाथ ढकालले मन्त्री पाउने भएपछि अन्य एक सिटे दलका नेताहरुलाई छटपटी भएको हो । त्यसो त सद्भावना पार्टी समेत सरकारमा जाने कुरा गरिरहेको छ । यसकारण पनि मधेसी दलहरुको आन्दोलन समाप्त भएको प्रष्ट भएको छ ।












