१८ साउन, काठमाडौं । उधारो सहमति नमान्ने भन्दै केपी ओली नेतृत्वको सरकारका विरुद्धमा निरन्तर लागेका मधेसी मोर्चा लगायतका दलहरुले भने कांग्रेस र माओवादीसँग उधारो सहमति गरेका छन् । आफ्ना मागको सम्बोधन पछि गरेर हुँदै नहुने अडान राखेका दलहरुले आज भने कांग्रेस र माओवादीसँग आफ्नै भनाइ विपरीतको सहमति गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन मतदान गर्ने निर्णय गरेका छन् । आन्दोलनरत दलका माग पूरा गर्न नयाँ सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने विषयमै मधेसी दलहरुले चित्त बुझाएका छन् ।
कांग्रेस माओवादी केन्द्रसँग संघीय गठबन्धनमा संलग्न दलहरुले निम्न सहमति गरेका छन् :
१. अब बन्ने सरकारले मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्वशर्तलाई कार्यान्वयन गर्ने ।
२. सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं. मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने ।












