१८ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्रै उम्मेदवारी दर्ता भएको छ । एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने निर्णय गरेसँगै नयाँ प्रधानमन्त्रीको दौडमा प्रचण्ड एक्लै रहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चाका उपेन्द्र यादवसहितका दलका नेताहरुसहित संसद भवन पुगेर मंगलबार प्रचण्डले उम्मेदवारी दर्ता गराए । उनलाई कांग्रेस, मधेसी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक र साना दलको समर्थन गर्ने प्रष्ट भएको छ ।
प्रचण्डले उम्मेदवारी दर्ता गरेको केही बेरमा नेकपा एमाले स्थायी समितिको बैठक सकिएको छ र एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
सोमबारसम्म एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । प्रधानमन्त्रीको उम्मेदवारका लागि वामदेव गौतम र सुवास नेम्वाङको नाम चर्चामा थियो । तर, स्थायी समितिले उम्मेदवारी नदिने निर्णय गरेपछि प्रचण्डलाई प्रधानमन्त्री बन्न अब कुनै अवरोध देखिएको छैन।
प्रधानमन्त्रीको दौडमा प्रचण्ड एक्लै भए पनि उनी निर्विरोध प्रधानमन्त्री बन्न पाउने छैनन् । प्रक्रियाअनुसार प्रधानमन्त्री चयन हुने भएकोले वुधबार बस्ने संसदले मात्रै उनलाई प्रधानमन्त्रीमा चयन गर्ने छ ।
प्रधानमन्त्री निर्वाचनका लागि संसद बैठक भोलि बुधबार विहान ११ बजे बोलाइएको छ ।
एकजना मात्र उम्मेदवार भए पनि प्रक्रियामा लैजानु पर्ने व्यवस्था संसदीय नियमावलीमा भएकोले ‘बहुमत छ भनेर देखाउनुपर्ने संसदका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
यो व्यवस्थाले उम्मेदवारी नदिएको एमालेलगायतका दलहरुले प्रचण्डको विपक्षमा मतदान गर्न बाटो खुल्ला गरेको छ। त्यसो त एमालेले प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।












