१७ साउन, काठमाडौं । नयाँ धरहरा निर्माणका लागि ४२ रोपनी जमीन, ३ अर्ब रकम र ३ वर्षको अवधिलाई आधार मानेर योजना सार्वजनिक गरिएको छ । गत वर्ष गएको विनाशकारी भूकम्पले ऐतिहासिक धरहरा भत्किएपछि अझ पराकिलो क्षेत्र ओगटने गरी आकर्षक धरहारा निर्माण गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार काठमाडौंमा भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरिएको छ । तीन अर्ब रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ । यो योजनासँगै गोश्वारा हुलाक र टक्सार विभागको अहिलेको स्वरुप संकटमा पर्ने देखिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताए ।
‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत रु एक करोड ९५ लाख सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले धरहरा निर्माणका लागि लाग्ने रु तीन अर्वमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्ने जानकारी दिए ।
पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाउने जानकारी सरकारले दिएको छ ।
इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिने भएको छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलो पटक धरहरा बनाउन लगाएका थिए ।














