१७ साउन, नेपालगञ्ज। नेपालका लागि आवश्यक विद्युत दिने कुरा गरिरहेको भारतले यसअघि दिंदै आाएको विद्युत समेत नदिँदा सिमाक्षेत्रका वासिन्दाले १४ घण्टा लोडसेडिङ व्यहोर्नुपरेको छ ।नयाँ ट्रान्सफर्मर जडान गर्ने निहुँमा भारतले सिमामा दिएको विद्युत बन्द गरेको हो ।
भारतबाट आईरहेको विद्युतमा एक्कासी कटौती गरिएपछि नेपालगञ्जमा हाल दैनिक १४ घण्टा भन्दा बढीको लोडसेडिङ भएको हो ।
भारतबाट एक्कासी केही दिनका लागि भनेर विद्युत कटौती गरिएको तथा नेपालको मुख्य प्रसारण लाईनबाट प्राप्त भइरहेको तीन मेगावाट विद्युत पनि हाल कटौती गरिएपछि नेपालगञ्जमा बिद्युत्को चरम संकट उत्पन्न भएको बिद्युत प्राधिकरण नेपालगञ्ज शाखाले जनाएको छ ।
बिद्युत् प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख उमेशकुमार झाका अनुसार भारतले नानपारामा नयाँ ट्रान्सफर्मर जडान गर्ने जनाउँदै बिद्युत कटौती गर्दा तथा नेपालबाट प्राप्त बिद्युत समेत आउन बन्द भएपछि दैनिक १२ देखि १४ घण्टासम्म लोडशेडिंग गर्नु परेको बताए ।
उनले हाल भारतबाट आईरहेको बिद्युतले आधा नेपालगञ्जलाई मात्र पुग्ने भएकोले नगरलाई दुई भागमा बाँडेर चार चार घण्टाका लागि बिद्युत सप्लाई गर्न थालिएको बताए ।
दैनिक १४ घण्टासम्मको लामो लोडेडिंगका कारण नगर र सो वरिपरिका अधिकांश उद्योगहरु ठप्प भएको व्यवसायीहरुले बताएका छन् । उद्योग संचालन गर्ने समयमै दिनमा धेरै पटक बिद्युत आपूर्ति बन्द गरिंदा अधिकांश उद्योगले उत्पादन गर्न सकेका छैनन् । सोही कारणले अधिकांश उद्योग ठप्प रहेको उद्योगी ब्यबसायीको गुनासो छ ।
लोडशेडिंगका कारण बिद्युतबाट संचालन हुने यहाँको सम्पूर्ण ब्यबसाय प्राय ठप्प भएको छ ।
बिद्युतको अवस्था यस्तै रहने हो भने नेपालगञ्ज र समग्र बाँके जिल्लाको उद्योग ब्यबसाय पूर्ण रुपमा बन्द हुने चेतावनी नेपालगञ्ज उद्योग बाणिज्य संघले दिएको छ ।
संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बिद्युत अनियमितताका कारण जिल्लाका उद्योगहरु ठप्प भएको र बजारमा संचालन हुने अन्य ब्यापार ब्यबसाय पनि ठप्प हुन थालेको बताए ।
पछिल्लो पटक शुरु भएको लोडशेडिंग र बिद्युत अनियमितताले गर्दा ठूला साना सबै उद्योगको उत्पादननै बन्द हुँदा उद्योगीले ठूलो हानी ब्यहोर्नु पर्ने अवस्था आएको जनाउँदै अध्यक्ष श्रेष्ठले यसको विकल्प खोज्नै पर्ने कुरामा जोड दिए ।
नेपालगञ्जको बढ्दो विद्युत समस्या समाधानका लागि राष्ट्रिय प्रसारण लाइनबाट १० मेगावाट विद्युत तत्काल उपलब्ध गराउनु पर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघको माग छ ।
राष्ट्रिय प्रसारण लाइनबाट १० मेगावाट विद्युत पठाउन पटक पटक माग गरिए पनि सुनुवाई नभएको र आशवासन मात्र दिने काम हुँदै आएको संघले जनाएको छ ।
हाल राष्ट्रिय प्रसारणबाट दिईंदै आएको तीन मेगावाटलाई १० मेघावाटमा पुरयाउन सरकारसँग माग गरिएको र माग पूरा नभए आन्दोलन शुरु गर्ने निर्णय भैसकेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठको भनाई छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पछिल्लो समयमा आएर नेपालगञ्जको बिद्युत संकट निकै बढेको जनाउँदै सो बारेमा केन्द्रमा जानकारी गराइएको बताए ।












