१७ गते । कटवाल काण्डले प्रधानमन्त्रीको कुर्ची छाड्नु परेका माओवादी अध्यक्ष प्रचण्डले फेरि पनि सरकारमा गएर आफूले जोखिमयुक्त काम गर्न लागेको खुलासा गरेका छन् । सरकारमा जाने हतारो गरिरहेका उनले सरकारमा जानु निकै चुनौतिपूर्ण रहेको बताएका छन् ।
ललितपुरमा आज आयोजित क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए । अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा थियो ।
संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको उनको भनाइ थियो । उनले राष्ट्रलाई आन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए।
गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रष्ट पारे । सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त उनले गरे ।
देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनले बताए ।
नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम दू्रत गतिमा अगाडि बढ्नेमा उनको विश्वास रहेको थियो । विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उनले उल्लेख गरे ।












