भारत रिसाउला कि भन्ने देउवालाई चिन्ता !
सप्तरीमा सीमा जोगाउन भारतीय पक्षसँग लडेका देवनारायण यादव अहिले एमाले नेताहरुले संचालन गरेको मनमोहन अस्पतालमा उपचाररत छन् । कांग्रेसले काठमाडौंमा मन्त्रीहरुको भागवण्डा लगाउँदै गर्दा सप्तरीको तिलाठीमा एक कांग्रेस कार्यकर्ता सिमा रक्षाका लागि भारतीय पक्षसँग लड्दै थिए । लड्दा उनी घाइते पनि भए । तर आफ्ना कार्यकर्ताको अवस्था कस्तो छ भन्ने चासो समेत कांग्रेसले दिएन । वरु उनलाई काठमाडौं ल्याएर उपचार गराउने काम गरे एमालेका युवा नेताहरुले ।
स्वयम्भूस्थित मनमोहन अस्पतालको बेडमा रहेका यादवले आफ्नो दलप्रति गुनासो गर्दै भने – ‘म कांग्रेस कार्यकर्ता हुँ तर कांग्रेसले नै मलाई बेवास्ता गर्यो ।’
कांग्रेस नेताहरु मधेस र कांग्रेसको सम्बन्ध नङ र मासुको जस्तै छ भन्ने गर्छन् । के आफ्ना कार्यकर्ताको यस्तो अवस्था हुँदा पनि कांग्रेस नेताहरु भने भारतीय राजदूतसँग डिनर खाएर नयाँ सरकारमा जाने दौडधूपमा छन् । यतिसम्म कि सप्तरी घटनामा कांग्रेसले त कुनै चासो समेत देखाएको छैन । भारतीय ज्यादतिको विरुद्धमा उत्रने देवनारायण हाम्रा कार्यकर्ता हुन् भन्दा पनि भारत रिसाउला भन्ने चिन्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई लागिरहेको यसबाट बुझ्न कठिन छैन ।












