काठमाडौँ, १५ साउन । तिब्बतीहरुको आश्रयस्थलका रुपमा रहेको नेपालको प्रसिद्ध बौद्ध तीर्थ बौद्धनाथ गुम्बाको बजे १६ करोडभन्दा बढी रहेको तथ्य सार्वजनिक गरिएको छ । चिनको चासो रहेको यो बौद्ध तिर्थस्थलको बजेट चिनकै राजदूतको उपस्थितिमा शनिबार सार्वजनिक गरिएको हो । बौद्धनाथ क्षेत्र विकास समितिले चालु आर्थिक वर्षका लागि रू १६ करोड ९१ लाख २७ हजारको बजेट सार्वजनिक गरेको हो ।
यहाँ आज आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी शेर्पाले चालु खर्चतर्फ करिब रू तीन करोड ८८ लाख तथा पुँजीगत खर्चतर्फ करिब रू १३ करोड दुई लाख खर्चको बजेट सार्वजनिक गरे । समितिले गत वर्ष रू ११ करोड ६२ लाखको बजेट सार्वजनिक गरेको थियो ।

बौद्धनाथको चैत्य मर्मत तथा त्यस क्षेत्रका अन्य सम्पदाको सम्भार तथा संरक्षणका लागि खर्च बढेको छ । स्वदेशी तथा विदेशी दातृ सङ्घसंस्थाबाट समेत सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइलगायतले बौद्धदर्शन मानवकल्याणका लागि उपयोगी रहेकाले यसलाई जनस्तरमा फैलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार तथा कर्मचारीलाईसम्मान गरिएको थियो ।











