१३ साउन, सप्तरी । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भएको छ।
बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो। दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागिरहेका छन्।
घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ। भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ।
दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथोल्न सकिएको छैन। स्थिति तनावपूर्ण छ।
भारतीयले दशगजा क्षेत्रमा बनाएको बाँधको ८० प्रतिशत भाग नेपाली युवाले भत्काइदिएका छन् । सुरक्षा प्रमुखसहित नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेर बाँध भत्काइदिएका हुन्।












