१३ साउन, काठमाडौं । प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श थालेका छन् ।
सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका प्रचण्डले विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा परामर्श थालेका हुन् ।
‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलार्इ सल्लाह दिनुस्,’ प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने । तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानुपर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ ।
संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा संशोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनुपर्ने, भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नु पने, भूकम्प पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नु पर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनु पर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावानलाई प्राथमिकता दिन नेताहरुले सुझाव दिन थालेका छन् । विहीबारको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।












