१२ साउन, काठमाडौं । अत्यधिक मासु विक्री हुने राजधानी काठमाडौंका ९१ प्रतिशत मासु पसलबाट खान अयोग्य मासु विक्री हुने गरेको खुलासा भएको छ । राजधानीका नौ प्रतिशत मासु पसलमा मात्रै खान योग्य मासु विक्री हुने गरेको र बाँकी सबैमा खान अयोग्य मासु विक्री भैरहेकोप्रयोगशालामा गरिएको परीक्षणबाट पत्ता लागेको हो । यो तथ्यबाट राजधानीवासीले खान अयोग्य मासु खाँदै आएको स्पष्ट भएको छ ।
काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा नौवटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको हो । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो ।
मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको पत्ता लागेको हो । अनुगमनका क्रममा अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो ।
अनुगमन टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु ‘खान लायक नभएकोु भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी (माइक्रोबियल लोड) र एन्टिबायोटिक औषधिसम्बन्धी दुईखाले परीक्षण गरिएको थियो ।
एक सय दुई पसलमध्ये ६२ वटा पसलबाट बेचिने मासुमा कम परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाँकी पसलबाट बेचिने मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक भेटिएको मन्त्रालयका सचिव पौडेलले बताए । ‘प्रतिवेदनले करिब १० प्रतिशत पसलको मासुमात्रै खान योग्य देखाएको छ । बाँकी ९० प्रतिशत पसलबाट उत्पादित मासु खान अयोग्य भेटियो’, उनले भने, ‘खान अयोग्य भेटिएका मासुपसललाई चाँडै कारबाहीको दायरामा ल्याउँदैछौं ।’

वरिष्ठ पशु चिकित्सक डा. बोधनाथ अधिकारीका अनुसार मापदण्डअनुसार कम परिमाणमा जीवाणु भेटिएका आधारमा खानलायक मासु बेच्ने पसलमा बालाजुस्थित बालाजु मिट सप, ललितपुरको नखिपोटस्थित कामना मिट सप, सोही स्थानको आरके मिट सप र पुलचोकस्थित सोल्टी कोल्ड स्टोर छन् । यस्तै पुल्चोकस्थित पुल्चोक कोल्ड स्टोर र शिव मासु पसल, नक्खुस्थित भेराइटी मिट सप, सोही स्थानको एनके मिट सप र भक्तपुरको ख्वपः कोल्ड स्टोरबाट बेचिने मासु पनि खान योग्य भेटिएको छ ।












