११ साउन, काठमाडौं । आगामी सरकारमा कांग्रेसबाट एक उपप्रधानमन्त्री र माओवादी केन्द्रबाट एक उपप्रधानमन्त्री राख्ने निश्चितता भएसँग कृष्णबहादुर महरा माओवादीका तर्फबाट उपप्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको छ । ओली सरकार ढाल्न तीव्र कसरत गरेका महरा र वर्षमान पुनमध्ये पुन सांसद समेत नभएका कारण महरा उपप्रधानमन्त्री बन्ने निश्चित भएको हो । जनार्द्धन शर्मा प्रभाकर पनि यो दौडमा भए पनि उनी उपप्रधानमन्त्री बन्ने सम्भावना देखिएको छैन । दोस्रो चरणमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी दिने गरी प्रचण्डले महरालाई सुनिश्चित गरेको माओवादी स्रोतले जनाएको छ ।
माओवादीले पाउने ८ मन्त्रालयमध्ये अन्य ७ मन्त्रालयमा यसपल्ट नयाँ अनुहारले स्थान पाउने देखिएको छ । यद्यपि प्रभु शाहले भने यसपल्ट पनि मन्त्री पाउने देखिएको छ । मधेसको प्रतिनिधित्वका साथै पार्टी छाडेका नेता बाबुराम भट्टराई निकट शाहलाई खुशी पार्नका लागि पनि उनलाई मन्त्री बनाउने तयारीमा प्रचण्ड लागेका छन् । त्यस्तै भट्टराई निकट अर्का नेता राम कार्कीले पनि मन्त्री पद पाउने देखिएको छ ।
मन्त्री पदका लागि दुई दर्जनभन्दा बढी सांसद आकांक्षी देखिए पनि हितराज पाण्डे, महेन्द्रबहादुर शाही, श्रीप्रसाद जवेगु योगेन्द्र घिसिङ, दलजीत श्रीपाली, सिता नेपालीलाई मन्त्रालयहरुबो जिम्मा दिने गरी अन्तिम तयारी भैरहेको माओवादी स्रोतले जानकारी दिएको छ । शाहीलाई कर्णालीको प्रतिनिधिका रुपमा, जवेगुलाई पूर्वी क्षेत्र र जनजातिको प्रतिनिधित्वका रुपमा घिसिङलाई जनयुद्धका घाइतेका तथा उपत्यकाका प्रतिनिधिका रुपमा र श्रीपाली तथा नेपालीलाई दलित तथा महिलाका तर्फबाट सरकारमा सहभागी गराउन माओवादीले लागेको हो ।
मन्त्री चयनका लागि यतिवेला कृष्णबहादुर महरा, वर्षमान पुन, विवादित ल्यारकाल लामा, पार्टी एकतापछि आएका रामबहादुर थापा वादल लगायतका नेताहरु गृहकार्यमा लागिरहेका छन् ।












